पहिलो दिनमै मानुषी लघुवित्तको आईपीओमा ५ लाख ८१ हजारभन्दा बढीले दिए आवेदन
२१ गुणा बढीको शेयर खरीद माग
काठमाडौं,साउन २७ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साँझसम्ममा ५ लाख ८१ हजार ६३३ जना आवेदकहरुबाट ७९ लाख २ हजार ५१० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो । कम्पनीले बुधवारदेखि ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ ।
साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । आर्थिक अभियानबाट