लुम्बिनी प्रदेशका मन्त्री पाण्डेयद्वारा राजीनामा



रुपन्देही,साउन २७ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी पाण्डेयले मंगलबार राजीनामा दिएका हुन। सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयको भनाइ छ ।

उनि पहिलो पटक वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख ६ गते जसपाबाट मन्त्री बन्नुभएका पाण्डेलगायत सरकारमा सहभागी जनता समाजवादीका विजय यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

पार्टीले कारबाही गरेपछि प्रदेससभा सचिवालयले सांसद पदबाट मुक्त गरिसकेको छ । जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना पाण्डेय भने मन्त्रीमा कायमै छन। पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद थिए । पार्टीले तीन जनालाई कारबाही गरेपछि अब तीन सांसद कायम छन् ।

यसैबीच मुख्यमन्त्री पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस्