४३ करोड रुपैयाँभन्दा बढीको तरकारीको बिउ आयात
काठमाडौं,साउन २७ । करीब १ वर्षको अवधिभित्र नेपालमा ४३ करोड रुपैयाँभन्दा बढीको तरकारीको बीउ आयात भएको छ । बीउबिजन आयातकर्ता कम्पनीहरूले भारत, चीन, जापान, थाइल्यान्ड, दक्षिण कोरियालगायत देशहरूबाट विभिन्न ३४ किसिमका वर्णसंकर र उन्नत जातका तरकारीका बीउहरू आयात गर्ने गर्छन् ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांकअनुसार आव २०७७/७८ को अन्तिमसम्ममा आयातकर्ता कम्पनीहरूले कुल ४३ करोड ३० लाख ७५ हजार ८ सय ४३ रुपैयाँ बराबरको १३ लाख ५५ हजार १४ किलो तरकारीको बीउ आयात गरेका हुन् । यो परिमाण गत आवको तुलनामा ८ करोड ५३ लाख २५ हजार ९ सय ३५ रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कुल ३४ करोड ७७ लाख ४९ हजार ९ सय ८ रुपैयाँको १ लाख ३ सय ४८ किलो बीउ आयात भएको थियो ।
केन्द्रले काउली, बन्दा, ब्रोकाउली, फर्सी, गाजर, प्याज, गोलभेडा, धनियाँ, मुला, तितेकरेला, भण्टालगायत ३४ भन्दा बढी जातका तरकारीको बीउ नेपालमा आयात हुने गरेको जानकारी दिएको छ ।
सबैभन्दा बढी कुल ९ करोड ३६ लाख ७२ हजार २ सय ३० रुपैयाँको ३३ सय ८९ किलो काउलीको बीउ आयात भएको छ । त्यसैगरी सबैभन्दा कम ५ लाख ९ हजार १ सय ८४ रुपैयाँको ३२ किलो चिनियाँ बन्दाको बीउ आयात भएको केन्द्रले जानकारी दिएकोे छ । ५८ लाख २२ हजार १ सय ५४ रुपैयाँको २८ सय १० किलो गाजरको बीउ, १ करोड, ४६ लाख, ६ हजार ५ सय ७२ रुपैयाँको ५३ हजार ४ सय २० किलो धनियाँको बीउ आयात भएको छ । ३ करोड १९ लाख ९८ हजार रुपैयाँको २८ सय किलो तितेकरेलाको बीउ आयात भएको तथ्यांकले देखाएको छ । विदेशबाट आयात गरिने तरकारीहरूमध्ये काउली, बन्दा, प्याज, धनियाँ प्रमुख हुन् ।
केन्द्रका बागवानी अधिकृत विकास खरेलले पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा तरकारीखेती गर्ने
किसानहरूको संख्या बढ्दै गएकाले तरकारीको बीउ आयातको परिमाण पनि विगतको तुलनमा बढ्दै गएको आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।
उनका अनुसार स्थानीय जातका बीउहरू केही सीमित कम्पनीहरूले नेपालमा नै उत्पादन गर्ने भए पनि वर्णसंकर जातका बीउ भने विदेशबाट नै आयात गर्ने गरिन्छ ।