राति ८ बजेपछि सवारी सञ्चालनमा रोक
काठमाडौं,साउन २७ । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउँदै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलवार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठकले बिहीवारदेखि लागू हुने गरी उपत्यकाको निषेधाज्ञा थप गरेको हो । बैठकले यसअघिको निषेधाज्ञालाई निरन्तरता दिँदै रातिको समयमा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले पसल तथा व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने र भीडभाडका क्षेत्र सञ्चालनमा प्रतिबन्ध लगाई निषेधाज्ञा थप गरिएको जानकारी दिए ।
उनका अनुसार सबै प्रकारका सभा, गोष्ठी, पार्टी प्यालेस, जीम, डान्सबार, खेलकुद, क्लब, स्वीमिङ पुल, मनोरञ्जनका क्षेत्र आदि सञ्चालनमा रोक यथावत् राखिएको छ । धार्मिक स्थल पनि पुजारीले नित्यकर्म गर्न पाउने गरी मात्रै खुला गर्न पाउने निर्णय गरिएकोमा एउटा कोठामा २५ जनासम्म मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ ।
कोभिडको संक्रमण बढ्दै गएकोमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको बताउँदै प्रजिअ पराजुलीले मास्क नलगाउने र प्रतिबन्धित क्रियाकलाप गर्नेलाई कारबाही गरिने बताए ।
हाल बन्दाबन्दी खुलेसरह भए तापनि उपत्यकाका प्रजिअहरूले निषेधाज्ञालाई यथावत् रूपमा थप गरिरहेका छन् । स्वास्थ्यविद्ले भने यसलाई कर्मकाण्डी निषेधाज्ञा मात्रै भएकाले यसले संक्रमण नरोकिने बताएका छन् । राति ८ बजेपछि सवारी सञ्चालनमा रोक लगाउनुलाई कर्मकाण्डजस्तै भएको टिप्पणी गर्दै स्वास्थ्यविद् समीरमान दीक्षितले यो आपूmले महामारीका बेला केही गरेको देखाउनका लागि मात्रै गरेजस्तो भएको बताएका छन् ।
‘अर्थतन्त्रदेखि सबै क्षेत्रलाई बन्दाबन्दीले नराम्रोसँग हिर्काएकाले अब निषेधाज्ञा विकल्प त होइन, गर्नु हुँदैन,’ उनले भने, ‘निषेधाज्ञाको निर्णय केही गरेको जस्तो देखाउनका लागि मात्रै भइरहेकोमा यसले संक्रमण रोक्दैन ।’ उनले बन्दाबन्दी खुकुलो बनाउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गरी सबैलाई खोप दिनु नै अबको विकल्प भएको बताए ।
पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएकोमा अस्पतालहरू भरिन थालेका छन् । मंगलवार २४ घण्टाको अवधिमा थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएकोमा थप ३५ जनाको कोभिडका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोभिडको नयाँ भेरियन्टबाट सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेरसमूह प्रभावित भएका छन् । मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंगलवार गरिएको परीक्षणका क्रममा मात्रै ३१ प्रतिशत संक्रमण यो उमेरसमूहका व्यक्तिमा देखिएको हो । हाल नेपालमा ३७ हजार ३३२ संक्रिय कोरोना संक्रमित रहेको जानकारी उनले दिए ।आर्थिक अभियानबाट