सुनसरीमा एक महिनामा २३८ जना फरार अभियुक्त पक्राउ
सुनसरी,साउन २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिनाको अबधीमा २ सय ३८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत फैसला कार्यान्वयनको सिलशिलामा अदालतबाट कैद तथा जरिवाना तोकिएका २३८ जना फरार प्रतिवादीलाई साउन महिनाको अवधीभर पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते,जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार लगायतका मुद्दामा कैद तथा जरिवाना भई फरार रहेका २ सय ३८ जनालाई पक्राउ गरी कार्यान्वयनको लागि अदालत मार्फत कारागार चलान गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कुमार कार्कीले बताउनुभयो ।
अदालतले दोषी ठहर गरेर पनि सजाय भुक्तान नगरेकाहरूलाई पक्राउ गर्न अभियान चलाइएको र त्यसमा सफलता प्राप्त भएको डिएसपी कार्किको भनाई छ।
फरार अभियुक्तबाट प्रहरीले ९ लाख ३५ हजार ३५९ रुपियाँ राजस्व संकलन गरेको छ भने ४९ वर्ष कैदसमेत भुक्तान भएको छ ।