कमला पाण्डे प्रकरण : माइतीपक्षको यस्तो छ गम्भीर आरोप
नवलपरासी,साउन २६ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा घर भएकि २१ वर्षीय महिला कमला पाण्डे( न्यौपाने) गत शुक्रबार बिहान सरावल गाउँपालिका ३ मा रहेको आफ्नै माइतीघरको कोठामा झुन्डिएर आत्महत्या गरिरहेको अवस्थामा फेला परिन् । मृतक महिलालाई ईलाका प्रहरी कार्यालय बदर्घाटले घटनास्थलको मुचुल्का उठाई पोष्टमार्टमा लागि जिल्ला अस्पताल परासीमा लगेको थियो ।
घटना भएकै दिन शुक्रवार ईलाका प्रहरी कार्यालय बर्दघाटमा कमलालाई आत्महत्या गर्न उनकै श्रीमान, सासु र देवरले दुरुत्साहन गरेको भन्दै माइतीपक्षले जाहेरी दर्ता गरेपछि शनिबार मृतक महिलाको दाहशंस्कार गरिएको थियो । मङ्गलबार रामनगर महिला सञ्जाल र माइतीपक्ष मृतक कमलाको घरमा घटनाबारे बुझ्न भनि पुगेका थिए । घरमा गएर उनका श्रीमान, सासु र देवरलाई घटनाको कारणबारे सामान्य सोधपुछ गर्ने क्रममा उनिहरुबाट चित्तबुझ्दो जबाफ नआएको र उनिहरुले नै कमलालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दर्जनौंको सङ्ख्यामा आएका माइतीपक्षले कमलाका श्रीमान सन्दीप न्यौपाने, सासु (खगिशरा न्यौपाने) र देवर (सन्तोष न्यौपाने)लाई कुटपिट समेत गरेका थिए । परिवारले कमलालाई बिबाहमा दाइजो नल्याएको भनि सधैं हेला गर्ने, श्रीमानले रक्सी खाएर कुटपिट गर्ने र घरबाट बाहिर जान नदिई बन्धक बनाउने गरेको माइतिपक्षको आरोप छ । उनका श्रीमान र सासुले भने कमलाले परिवारका सदस्यलाई गालिगलौज गरेर जतिबेला पनि मर्छु भनेर धम्क्याउने गरेको बताएका छन् ।
घटना घटेको पाँच दिन बितिसक्दा पनि प्रहरीले आवश्यक छानबिन गर्न ढिलो गरेको भन्दै माइतीपक्ष मङ्गलबार नै जिल्ला प्रहरी कार्यालय परासीमा पुगि छिटोभन्दा छिटो घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् । यता जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले भने घटना भएकै दिन माइतीपक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय बर्दघाटमा जाहेरी दर्ता भैसकेको र घटनाबारे आवश्यक छानबिन गरि अनुसन्धानको क्रममा दोषी कोहि भेटिए कानुनि कारबाही अगाडि बढाइने बताउनुभयो ।
उता, आफ्नो छोरीले परिवारको अत्याचार सहन नसकेर आत्महत्या गर्न बाध्य भएको आरोप लगाएको छ । कमलाको गत बैशाख महिनामा मात्र बिबाह भएको र ३ महिनाको बच्चा गर्भमा रहेको समेत माइतीपक्षले बताएको छ ।