कर्णाली नदीमा ५ जना वेपत्ता, एकको शव भेटियो



महेन्द्रनगर,साउन २६ । कैलाली- कर्णाली नदीमा छट्टाछुट्टै घटनामा बेपत्ता भएका सुदूरपश्चिमका ५ जना मध्ये एक जनाको शव फेला परेको छ। कैलालीका तीन र डोटीका दुई जना गरी कर्णालीमा ५ जना बेपत्ता भएका थिए।

वेपता मध्ये मोहन्याल गाउँपालिका–३ की उर्मिला सलामी मगरको शव भने आइतबार फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार कर्णाली नदीको बीचमा उनको शव फेला परेको जानकारी दिए ।

आइतबार लम्कीचुहा नगरपालिका वडा न ३ स्थित कर्णाली नदिको बिच भागमा बेवारिसे अवस्थामा उनको शव फेला परेको थियो ।मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने जाने क्रममा कर्णाली नदीमा डुङ्गा दुर्घटना भएको थियो। सोही डुंगामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका थिए ।

तत्काल उक्त शवको पहिचान खुल्न नसेपछि पोष्टमार्टमको लागि टिकापुर अस्पतालमा पठाईएको थियो । मृतक शवको पहिचान तथा आफन्तहरुको खोजी गर्ने क्रममा मृतक उर्मिलाका श्रीमान करन सलामी मगरले शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।

साउन २५ गते शुक्रबार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो ।

जीपमा सवार तीन जनाको उद्धार गरिएको थियो भने डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रकास जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए। उद्दार गरी कोहलपुर पुर्याइएका तीन बालबालिका मध्ये २ जना भने अस्पतालबाट डिस्चार्ज भईसकेको र एक जनाको भने उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै साउन १७ गते आइतबार कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु र थप तीन जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो ।बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेकी थिएन्।

प्रतिक्रिया दिनुहोस्