निजी गाडीको आयात बढ्यो
काठमाडौं, साउन २६ । गएको आर्थिक वर्ष (आव) २०७७/७८ मा अन्य व्यवसायमा नकारात्मक प्रभाव परे पनि अटोमोबाइलको व्यापार भने बढेको देखिएको छ । अटोमोबाइलभित्रै सार्वजनिक बससहित अन्य केही सेग्मेन्टको व्यापार खस्किए तापनि समग्र रूपमा भने अटोमोबाइलको बजार फस्टाएको देखिएको हो ।
यस आर्थिक वर्षमा दुईपांग्रे र चारपांग्रे गरी निजी प्रयोजनको यातायातका लागि प्रयोगमा आउने सवारीको आयात ७० प्रतिशतले बढेको छ । जीप, कार, भ्यान र मोटरसाइकल तथा स्कुटरको आयातको तथ्यांक हेर्दा आव २०७६/७७ मा २ लाख ९ हजार ९ मात्रै रहेकोमा गएको आवमा उक्त संख्या बढेर ३ लाख ५५ हजार १८ पुगेको देखिन्छ ।
नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अनुसार गएको वर्ष निजी प्रयोजनका जीप, कार, भ्यानको आयात आव २०७६/७७ मा १० हजार ९७२ रहेकोमा गएको आवमा उक्त आयात बढेर १४ हजार ८४७ मा पुगेको छ ।
यसैगरी दुईपांग्रेको हकमा ३ लाख ५५ हजार ८६७ मोटरसाइकल तथा स्कुटरको आयात भएको छ । यसको आयात अघिल्लो वर्ष १ लाख ९८ हजार ६२ मात्रै रहेको थियो ।
यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।