धौबादी फलाम खानी : सम्भाव्यता र डीपीआरका लागि कम्पनी छनोट



काठमाडौं,साउन २६ । धौबादी फलाम कम्पनी लिमिटेडले नवलपुरको धौबादीमा रहेको खानीको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विभिन्न ६ ओटा कम्पनी छनोट गरेको छ । भारत, चीन, दक्षिण अफ्रिका र अस्ट्रियाका ६ ओटा कम्पनी छनोट गरिसकेको छ र उनीहरूलाई यसै हप्ता आर्थिक तथा प्राविधिक प्रस्ताव बुझाउने समय तोकिएको छ ।

कम्पनीले आह्वान गरेको टेन्डरमा यी कम्पनीसहित ११ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये कम्पनीले ६ ओटालाई छनोट गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.जनकबहादुर चन्दले साउन पहिलो हप्ता ती कम्पनीहरू छनोट गरिएको जानकारी दिए । यी छनोट भएका कम्पनीमध्ये एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन र डीपीआरका लागि ठेक्का दिइने उनले बताए । उक्त कम्पनीले ३ महीनाभित्र सम्भाव्यता अध्ययन गर्नेछ । कम्पनीका सीईओ चन्दले अध्ययनपछि मात्रै डीपीआर बनाइने र त्यसका लागि भने ७ महीनाको समय दिइने जानकारी दिए ।

धौबादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि भएको ९ महीनापछि कम्पनीले यी अध्ययन तथा प्रतिवेदन तयार गर्न कम्पनी छनोट गर्दै छ । उनले यो चालू आर्थिक वर्षमा अध्ययनको काम सम्पन्न गरेर उत्पादनतर्फ लाग्ने जानकारी दिए ।

गतवर्ष औद्योगिक तथा व्यावसायिक उत्पादनको यकिन गर्न चीन पठाएको फलामे ढुंगा (कच्चा फलाम) को अन्तिम नमूना परीक्षणपछि सम्भाव्यता र डीपीआर बनाउने बाटो खुलेको थियो । फलामको उत्पादन, उत्खनन, भण्डारण, प्रविधि छनोटदेखि लगानीसम्मका विषय यकिन गर्न सम्भाव्यता अध्ययन गरिने र त्यसैका आधारमा डीपीआर बनाउने कम्पनीको तयारी छ । खानीक्षेत्रमा हालसम्म ८६४ मीटर ड्रिलिङ गरिएको चन्दले बताए । खानीक्षेत्रमा रहेका पाँचओटा होलमा गरी कुल १ हजार ३०० मिटर ड्रिलिङ गरेपछि भण्डारण तथा खानीको उत्पादन क्षमतालगायत विषय यकिन हुने उनको भनाइ छ । ड्रिलिङको काम भइरहेको उनले बताए ।

छानिएका कम्पनीहरूका चीनका २ कम्पनीहरू क्यापिटल इन्जिनीयरिङ एन्ड रिसर्च इनकर्पाेरेशन लि र शेडोङ जीईओ–सर्वेइङ एन्ड म्यापिङ इन्स्टिच्युट तथा भारतका २ कम्पनी रहेका छन् । यसैगरी दक्षिण अफ्रिका र अस्ट्रियाका कम्पनी पनि छनोटमा परेका छन् ।

सरकारले उक्त क्षेत्रबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न २०७६ साउनमा कम्पनी स्थापनाका लागि स्वीकृति दिएको थियो । कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौबादीमा १० किलोमीटरमा फलाम भएको पुष्टि भइसकेको छ । खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइको रहेको छ । देशको सबैभन्दा ठूलो खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको अध्ययनबाट देखिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्