सरकारले सोधेको स्पष्टीकरण नदिने महाप्रबन्धक भट्टराईको घोषणा
काठमाडौं,साउन २६ । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने घोषणा गरेका छन् । महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना गरेको भन्दै सरकारले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।
भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण नदिने उद्घोष गरेका हुन् । शून्य अवस्थामा रहेको रेलवे कम्पनीलाई सञ्चालन उन्मुख गराएको भन्दै उनले सरकारले सोधेको स्पष्टीकरण नदिने बरु राजीनामा दिने मनस्थिति बनाएका छन् । राजनीतिक स्पष्टीकरण सोधिएको भन्दै उनले आफू सरकारकै कर्मचारी भएकाले स्पष्टीकरण दिन नमिल्ने जिकिर गरे ।
सरकारले आफूलाई पदबाट हटाउन स्पष्टीकरणको बहाना बनाएको प्रतिक्रिया उनले दिए । मन्त्रिपरिषद्को १९ गतेको बैठकले पनि उनलाई ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड–२०७७’ को दफा ९ को खण्ड (घ) अनुसार खराब आचरण वा इमानदारीपूर्वक पदीय जिम्मेवारी अनुरूप काम नगरेकोे आधारमा तपाईंलाई महाप्रबन्धक पदबाट किन नहटाउने ?’ भनी सफाइ पेश गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई आइतवार ३ दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्राचार गरेको थियो । सोहीअनुसार उनले मंगलवार स्पष्टीकरण दिनुपर्नेमा सोमवार नै पत्रकार सम्मेलन गरी स्पष्टीकरण नदिने बताएका छन् ।
मन्त्रिपरिषद्ले सम्मानित अदालतका कामकारबाही र आदेश वा फैसलाहरूको अमर्यादित टीकाटिप्पणी गर्ने, राजनीतिक दल र त्यसका पदाधिकारीलाई अशोभनीय गालीगलौजको शैलीमा टिप्पणी गर्ने गरेको भन्दै भट्टराईलाई स्पष्टीकरण सोधेको हो । उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उक्त कम्पनीमा महाप्रबन्धकको रूपमा गतवर्ष नियुक्त गरेको थियो ।आर्थिक अभियानबाट