सेवाका सबै कर्मचारीलाई साउन १ गतेबाट नयाँ तलबमान स्वीकृत
काठमाडौं,साउन २५ । सरकारले सेवाका सबै कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखिनै लागू गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने बैठक पछि कानुन, न्याय तथा संसदीय ममिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु घनश्याम लम्साल, सुशील भट्टराई, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।