भारतीय सीमामा अटोमोबाइलका पार्टपुर्जाको विक्री बढ्यो
काठमाडौं,साउन २५ । कोभिड–१९ संक्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीपछि भारतीय सीमासँग जोडिएका जिल्लामा अटोमोबाइल पार्टपुर्जाको विक्री बढेको छ । सीमाक्षेत्रमा अनधिकृत व्यापार कम भएकाले पार्टपुर्जाको विक्री बढेको हो । कोभिड संक्रमण रोकथामका लागि २०७६ चैतदेखि सरकारले ४ महीना लामो बन्दाबन्दी गरे थियो । त्यसपछि व्यवसाय सञ्चालनमा आएको बेलैदेखि सीमा नाकातर्फको व्यापारमा राम्रो संकेत देखिएको थियो । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्षसमेत रहेका अटोमोबाइल पार्टपुर्जा व्यवसायी कृष्ण दुलालले त्यसयता सीमा नाकामा पनि सामान गइरहेको बताए ।
‘कोभिडका कारण नाकामा आवतजावत बन्द भएपछि सीमामा हुने चोरी निकासी घटेकाले माग नाकासँग जोडिएका ठाउँमा पनि सामान गएको छ,’ उनले भने ।
अघिल्लो वर्ष साउनपछि केही महीना सीमा नाका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका अटोमोबाइल पार्टपुर्जा विक्रेताहरूले सामान मगाएको व्यवसायीहरू बताउँछन् । सीमाक्षेत्रमा खुला नाकाका कारण भारतीय बजारबाट अनधिकृत पार्टपुर्जाहरू भित्रिने भएकाले कोभिडअघिका वर्षमा अधिकृत सामानको माग नै हुने नगरेको अटोमोबाइल पार्टस् व्यवसायी तथा नाडाका महासचिव सुनील रिजाल बताउँछन् । ‘कोभिडअघिका वर्षमा सीमाक्षेत्रसँग जोडिएको ठाउँमा अटोमोबाइल पार्टस्को माग एकदमै नगन्य थियो,’ उनले भने, ‘सामानको अर्डर आइहाले पनि कहिलेकसो एकदमै न्यून आउने गरेकोमा बन्दाबन्दीको बेला माग राम्रो देखियो ।’
उनले बन्दाबन्दीका बेला सीमाक्षेत्रमा अटोमाबाइलका पार्टपुर्जाको माग २० देखि ५० प्रतिशतसम्म बढेको बताउँदै सीमा नाकामा आवातजावत रोकिएर अधिकृत व्यापार बढेको बताए । ‘अहिले आवतजावत खुकुलो भएपछि पुनः माग सुस्ताउँदै गएको छ,’ उनले भने । नाकामा कडाइ हुनासाथ गैरकानूनी आयात रोकिएको र अधिकृत माध्यमबाट सामान भित्रिँदा कर पनि बढेको उनको भनाइ छ ।
आगामी दिनमा पनि नाका व्यवस्थापन गरेर अवागमनका क्रममा आउने भन्सार छलीका सामान रोक्नुपर्ने उनले बताए । ‘सीमाक्षेत्रमा सानोसानो आकारमा बोकेरै पार्टस्को व्यवसाय गर्नेको संख्या ठूलो छ जसकारण बजारको अति सम्भावना भएको तराई क्षेत्रमा पनि राम्रो सामान जाँदैन,’ उनले भने, ‘सरकारले बोकेरे ल्याउने सामानमा पनि कर लगाएर अनधिकृत व्यवसाय रोकेमा भन्सार छलीको सामान आउन पाउँदैन ।’ यसले गर्दा व्यवसाय पनि फस्टाउने र सरकारको राजस्व पनि बढ्ने उनको भनाइ छ । आर्थिक अभियानबाट