सर्वोत्तम सिमेन्टको भित्रि कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयद्वारा थप छानविन



नेप्सेसँग मन्त्रालयले माग्यो ओटिसी कारोबारको सम्पूर्ण विवरण

काठमाडौं,साउन २३ ।  अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सर्वोत्तम सिमेण्टको सम्पूर्ण शेयर कारोबार विवरण माग गरेको छ ।

कम्पनीको भित्रि कारोबार भएको सम्बन्धमा छानविन अघि बढाएको अर्थ मन्त्रालयले ओटिसी बजारमार्फत भएको सम्पूर्ण कारोबारको विवरण माग गरेको हो । 
बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको कम्पनीको शेयर कारोबारमा ओटिसी बजारमार्फत भएकाले अर्थ मन्त्रालयले सोही कारोबारको विवरण माग गरेको हो ।

अर्थ मन्त्रालयले सर्वोत्तम सिमेण्टको कहिले शेयर खरीदविक्रीको लागि निवेदन दिएको, कहिले कारोबारका लागि नेप्सेले स्वीकृति प्रदान गरेको, कहिले शेयर खरीदविक्री भएको सम्बन्धमा विस्तृत विवरण तीन दिनभित्र पेश गर्न बिहीवार नेप्सेलाई पत्राचार गरेको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले माग गरेको सर्वोत्तम सिमेण्टको ओटिसी कारोबारका सम्बन्धमा विस्तृत विवरण नेप्सेले आइतवारभित्र बुझाउनेपर्ने देखिन्छ ।

बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्न लागेको कम्पनीको शेयर नियामक निकाय र बजार सञ्चालकको नेतृत्व गरिरहेका व्यक्तिहरुलेनै खरीद गरी भित्रि कारोबार गरेको पाइएपछि अर्थ मन्त्रालयले विशेष चासोका साथ छानविन गरिरहेको छ ।

कम्पनीको शेयर नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, बोर्डका सञ्चालक चन्द्र ढकाल, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदका परिवारको नाममा खरीदविक्री भएको पाइएपछि अर्थ मन्त्रालयले बोर्ड र नेप्सेसँग सो सम्बन्धमा स्पष्टिकरण माग गरेको थियो । 

दुबै पक्षले स्पष्टीकरण पेश गरिसकेको अवस्थामा अर्थ मन्त्रालयले थप छानविनका लागि फेरी कारोबार सम्बन्धमा सम्पूर्ण विवरण माग गरेको हो ।
कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको यस विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी सहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने कम्पनीको तयारी हो । 

गत असार १० गते विशेष साधारण सभा सम्पन्न गरी कम्पनीले  २० प्रतिशत लाभांश पारित गरेको छ । हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ४० करोडको आधारमा १९ दशमलव ११८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर वापत १ दशमलव ००६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव कम्पनीले सभामार्फत पारित गरेको हो ।

 कम्पनीले चुक्तापूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण शेयरधनीहरुको बिचको पूँजीको अनुपात मिलान गर्न लागेको हो । सभाले संस्थापकतर्फ ८७ दशमलव १० प्रतिशत र सर्वसाधारणतर्फ १२ दशमलव ९० प्रतिशत शेयर स्वामित्व कायम हुने गरी आईपीओ जारी गर्ने तयारी गरेको हो । 

आईपीओ विक्रीका लागि गत चैत ४ गते विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तथा सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको कम्पनीको आईपीओ निष्कासनका लागि हालसम्म नियामकको स्वीकृतिका लागि प्रक्रिया अघि बढाएको छैन् ।

अहिले भित्रि कारोबारको विवादमा झेलिएको कम्पनीको आईपीओ निष्कासन प्रक्रिया पनि पछि सर्ने देखिएको छ । कम्पनीले आन्तरिक मूल्याङ्कनका आधारमा प्रतिकित्ता रू. ७५० मा आईपीओ जारी गर्ने बताएको थियो । 

आईपीओ  जारी पश्चात कम्पनीको पूँजी रू. ४ अर्ब पुग्नेछ । व्यवसायिक उत्पादन शुरु गरेदेखि नाफा कमाउँदै आएको उक्त कम्पनीले विगत तीन वर्षको औषत मुनाफा वार्षिक रू. १ अर्ब ४ करोडभन्दा बढी रहेको जानकारी दिएको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्