पुनर्निर्माण कार्य अन्तिम चरणमा
काठमाडौं,साउन २२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत कार्यान्वयन हुनुपर्ने पुनर्निर्माणका कार्यहरू अन्तिम चरणमा पुगेका छन् । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिमा पुनर्निर्माणको पछिल्लो अवस्था र आगामी कार्ययोजना प्रस्तुत गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “प्राधिकरणमार्फत कार्यान्वयन गर्नुपर्ने कार्यहरू अन्तिम चरणमा छन् । प्राधिकरणको बाँकी कार्यकालमा पुनर्निर्माणका मूलभूत कार्यहरू सम्पन्न हुनेछन् । ” बैठकमा सांसद यज्ञराज सुनुवारले पुनर्निर्माणका क्रममा सुन्दर बस्ती र भव्य विद्यालय भवन निर्माण भएकोमा खुसी व्यक्त गर्दै पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न सुझाव दिनुभयो ।
समिति सभापति कल्याणी खड्काले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफ्नो जिम्मेवारीमा सफल भएको धारणा राख्दै बाँकी समयमा अधिकतम परिणाम निस्कने गरी काम गर्न सुझाव दिनुभयो । सांसद गणेश पहाडीले झन्डै १३ हजारको सङ्ख्यामा रहेका भूमिहीन भूकम्पपीडितलाई घर निर्माण गर्ने सुनिश्चितता हुनु सन्तोषको विषय भएको बताउनुभयो ।
पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म आठ लाख ६६ हजार १६० लाभग्राही पहिचान भएका छन् जसमध्ये ९५ दशमलव ७८ प्रतिशत अर्थात् आठ लाख २९ हजार ६६७ ले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेकामध्ये ९९ दशमलव ८९ प्रतिशतले पहिलो, ९० दशमलव ४५ प्रतिशतले दोस्रो र ८४ दशमलव ७७ प्रतिशतले तेस्रो किस्ता लिइसकेका छन् ।
सार्वजनिक संरचनातर्फ अहिलेसम्म छ हजार ६४७ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने ९०६ विद्यालयको पुनर्निर्माण जारी छ । गोरखापत्रबाट