दोस्रो दिनसम्म सानिमा लाईफको आईपीओमा १५ लाखभन्दा बढीको आवेदन
काठमाडौं,साउन २१ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा मागभन्दा ४ दशमलव ४३ गुणा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीवार साँझ ५ बजेसम्म १५ लाख ४ हजार ८११ जना आवेदकहरुबाट रू. २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार बराबरको २ करोड ३९ लाख ४७ हजार ७८० कित्ताको शेयर खरीदको माग भएको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको कुल रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
कम्पनीले बुधवारदेखि आईपीओ विक्रीमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको ५४ लाख कित्ता शेयर खरीदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
यो आईपीओ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धक प्रभु क्यापिटलसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत यो आईपीओेमा आवेदन दिन सकिनेछ ।