धुबाङ स्वास्थ चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु
प्युठान,साउन २१ । जिल्लाको ऐरावती गाउँपालिका वडा नंवर ४ को धुबाङ स्वास्थ चौकी कैरनमा निःशुल्क भिडियो एक्सरे सेवा शुरु गरिएको छ।
गाउँमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सजिलो भएको स्वास्थ शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिनुभयो। यहाँका महिलालाई गर्भजाँच गराउन जिल्ला अस्पताल बिजुवार सम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ । साथै महिनाको एकपटक रस्पुरकोट र पकला स्वास्थ्य चौकिबाट समेत यो सेवा प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।
उहाका अनुसार यो सेवा बिस्तारै सबै स्वास्थ्य संस्थामा सञ्चालन गर्ने योजना छ। गाउँ घर नजिकैका स्वास्थ्य संस्थामा भिडियो एक्सरे जस्ता अत्याधुनिक उपकरणको व्यवस्थापन भएपछि स्थानीय निकै खुशी छन्। भिडियो एक्सरे सेवाको उद्धाटन गर्दै गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले मातृ शिशु मृत्युदर कम गर्न, गर्भावस्थामा हुने जोखिम कम गर्न यो सेवा सहयोगी हुने बताउनुभयो ।
निःशुल्क भिडियो एक्सरे सेवा संचालनका लागी लुम्विनी प्रदेशको सामाजिक विकास मन्त्रालयले अल्ट्रासाउण्डलगायतका उपकरण सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले बताउनुभयो । ऐरावती गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्था र ४ वटा सामुदायिक स्वास्थ्य ईकाई संचालनमा छन।
स्वास्थ्य संस्थामा ल्याब सेवा, पोषण सुधार केन्द्र, गर्भवती सेवा, अल्ट्रा साउण्ड, २ वटा आइसोलेसन कक्ष, अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।