झोरमा १२ करोडको खानेपानी योजना बन्दै, टोखाका मेयर प्रकाश अधिकारीले गरे अनुगमन
काठमाडौ, साउन २१ । काठमाडौको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका वडा नम्बर १ झोरमा बृहत खानेपानी योजना अगाडि बढेको छ। झोरको भण्डारास्थित चिहान डाडामा निर्माण हुन लागेको खानेपानी आयोजनाको निर्माण आउँदो महिनाभित्रै सुरु हुने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताए ।
उपत्यका खानेपानी लिमिटेडको झण्डै १२ करोड लगानीमा निर्माण हुन लागेको उक्त खानेपानी योजनाको अनुगमन गर्दै नगरका मेयर अधिकारीले योजना निर्माण पश्चात् सेवा क्षेत्र लगायत छिमेकी नगरहरुमा समेत खानेपानीको समस्या समाधान हुने बताए । पछिल्लो समय यदाकदा वर्षायामका समयमा झोरबासीलाई समेत पानीको समस्या हुने गरेको स्मरण गर्दै नगर प्रमुख अधिकारीले टोखाको समग्र नागरिकलाई खानेपानी समस्या समाधानका लागि योजनाहरु अगाडि बढाइएको मेयर अधिकारीले बताए ।
टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले झोर बिस्तारै शहरीकरणतर्फ उन्मुख बस्तीका रुपमा विकसित भैरहेकाले दीर्घकालीन योजना स्वरुप यस खानेपानी आयोजना निर्माणका लागि आफू लागिपरेको बताए । झोरबासीको विकसित सपनालाई साकार तुल्याउन साविक पुरानो पानी ट्यांकी हुँदै नयाँ बन्ने ट्यांकीमा पानी जम्मा गर्ने र वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताए। साझापथसंग कुराकानी गर्दै वडा अध्यक्ष अधिकारीले साविक पुरानो ट्यांकी नाघेर जलाधार क्षेत्रको पवित्र पानी खेर गइरहेकाले त्यसलाई जम्मा गर्न सके मात्र सबैको घरघरमा निरन्तर खानेपानी प्रवाह हुने बताए ।
नयाँ बन्ने खानेपानी ट्यांकीमा ४५ लाख लिटर पानी दैनिक जम्मा गर्न सकिने उपत्यका खानेपानी लिमिटेडका इन्जिनियर मिलनकुमार शाक्यले बताए । आफ्नु टिमले समग्र योजनाको अध्ययन गरिसकेकाले ट्यांकी र फिल्टर निर्माण पश्चात् यस क्षेत्रका नागरिकलाई सफा र प्रशोधित खानेपानीको ब्यवस्थापन हुने उपत्यका खानेपानी लिमिटेडले अपेक्षा गरेको छ।
बढ्दो बस्ती विकाससँगै माथिल्लो क्षेत्रका हिउँदमा मुहान केहि मात्रामा सुक्ने र खानेपानी आपूर्तिको समस्या बढिरहेको अवस्थामा यस आयोजनामार्फत भविष्यमा टोखा नगरपालिकासहित तारकेश्वर नगरपालिकालाई समेत खानेपानी वितरण गर्ने दीर्घकालीन लक्ष्य टोखा नगरले राखेको छ ।
समाचार सम्बन्धित भिडियो हेर्नुस्