पाल्पामा कोभिडका कारण जिल्ला प्रशासन कार्यालय बन्द
पाल्पा,साउन २० । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएका कारण कार्यालयबाट प्रभाह हुने सेवा नौं दिन सम्मका लागि स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
मंगलबार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जना कर्मचारीमा संक्रमण देखिएपछि साउन २९ गतेसम्मका लागि कार्यालयको सेवा स्थगत गरिएको हो ।
कार्यालयले मंगलबार एक सूचना जारी गरी केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरी बाहेकका सम्पूर्ण सेवाहरु स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
५ जना कर्मचारीमा संक्रमण देखिएपछि अन्य कर्मचारीमा समेत संक्रमण फैलिन सक्ने र सेवाग्राही समेत जोखिममा पर्ने हुँदा साउन २९ गते शुक्रबारसम्मका लागि सबै सेवा स्थगन गरिएको छ ।
जिल्लामा संक्रमण कायमै रहेको हुँदा स्वास्थ्य मापदण्डको पालनामा जोड दिन पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ ।