व्यावसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी
दोलखा,साउन २० । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते (बिहीवार) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाले साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न लागेको हो ।
‘परीक्षण उत्पादन सफल भएकाले पहिलो युनिटबाट बिहीवारदेखि व्यावसायिक उत्पादन गर्न शुरू गर्न लागेका हौं,’ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले भने । प्रवक्ता न्यौपानेका अनुसार साउन १८ गतेदेखि चौथो युनिटबाट पनि परीक्षणको रूपमा विद्युत् उत्पादन शुरू भएको छ ।
चौथो युनिट सञ्चालनमा आएसँगैै हाल राष्ट्रिय प्रसारण लाइनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट बिजुली प्रवाह भएको छ । यसअघि पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते र तेस्रो युनिटबाट साउन ८ गतेदेखि सञ्चालनमा आएको थियो । भदौ महीनाभित्र सबै (६ ओटै) युनिट सञ्चालनमा आउने आयोजनाले बताएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेशनसम्म तथा त्यहाँबाट २२० केभी खिम्ती–ढल्केवर प्रसारण लाइनमार्फत ४००/२२० केभी ढल्केबर सब–स्टेशनसम्म पुर्याएर राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
खिम्ती सबस्टेशनको काम पनि करीब सकिने अवस्थामा पुगेको प्रवक्ता न्यौपानेले जानकारी दिए । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सबै युनिट सञ्चालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।आर्थिक अभियानबाट