टोखामा रोकिएको कोरोना खोप कार्यक्रम पुनः सञ्चालन



काठमाडौ,साउन १८ । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ ।

शनिबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम सोमबार बिहान १० बजेदेखि पुनः संचालन गरिएको हो ।

स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफि मागिसकेकाले खोप कार्यक्रमलाई निरन्तरता दिइएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।

नगरपालिकाले ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक एवं सहचालकलाई भेरोसेल खोप दिदै आइरहेको छ । मापदण्ड पुगेका व्यक्तिलाई खोप उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र मनोहर माध्यमिक विद्यालय सामाखुशीलाई खोप केन्द्र तोकि खोप दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्