सुस्तायो चीनको कारखाना गतिविधि



एजेन्सी,साउन १८ । गतमहीना चीनको कारखाना गतिविधि सुस्ताएको छ । 

सुस्त माग, कमजोर निर्यात र विषम मौसमको प्रभावका कारण समीक्षा अवधिमा कारखाना उत्पादन कोरोना भाइरसको महामारी शुरु भएयताकै न्यून स्तरमा ओर्लिएको हो ।

त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालय (एनबीएस)ले बताएअनुसार जुलाईमा कारखाना क्षेत्रको गतिविधि मापन गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ५० दशमलव ४ अंक रहेको छ । 

जुनमा यो सूचक ५० दशलमव ९ अंकमा थियो । कुनै पनि आर्थिक क्षेत्रको गतिविधि मापन गर्ने यो सूचक ५० भन्दा माथि रहेमा सो क्षेत्रमा वृद्धि भइरहेको बुझिन्छ । सूचक ५० भन्दा तल झर्‍यो भने सो क्षेत्रमा संकुचन आएको बुझिन्छ । 

अप्रिलदेखि जुनको बीचमा सूचक बढेको थियो । जुलाईमा यो सन् २०२० को फेबु्रअरीयताकै न्यून स्तरमा झरेको छ । यो अर्थशास्त्रीहरुले गरेको अनुमानभन्दा निकै खराब भएपछि ५० अंकभन्दा माथि नै रहेकोले कारखाना क्षेत्रमा वृद्धि भइरहेको तर्फ इंगित गरेको छ । 

हालैका दिनमा कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टमा भएको वृद्धिका कारण चीनको अर्थतन्त्रमा देखिन थालेको कमजोर पुनःबहाली धरापमा परेको छ । समग्रमा चीनको अर्थतन्त्र निरन्तर वढिरहेको भएपनि वृद्धिको गति सुस्ताएको एनबीएसका वरिष्ठ तथ्यांकशास्त्री चाओ छिङ्हले बताए ।

प्रतिक्रिया दिनुहोस्