मिर्गौला पीडितका लागि साङला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा सुरु हुँदै
काठमाडौ, साउन १६ । मिर्गौला पीडितका लागि साङला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा सुरु हुने भएको छ। तारकेश्वर नगरपालिकाले साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मिर्गाैला पीडितहरुका लागि हेमोडायलासिस सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
शुक्रबार एक कार्यक्रमबीच राष्ट्रिय मिर्गाैला उपचार केन्द्र वनस्थली र तारकेश्वर नगरपालिकाले एम.ओ.ई. मा हस्ताक्षर गरेका हुन् । राष्ट्रिय मिर्गाैला उपचार केन्द्रका निर्देशक डा. ऋषि कुमार काफ्ले लगायतको टिमले तारकेश्वर नगरपालिकाको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै केहि महिनाभित्र डायलासिस सञ्चालनमा आउने र यस क्षेत्रका बिरामीलाई राहत हुने बताए ।
कार्यक्रममा नगरपालिकाका मेयर रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, सूचना अधिकारी होमनाथ न्यौपाने, नगर स्वास्थ्य शाखाका कर्मचारीहरुको उपस्थिति रहेको स्वास्थ्य शाखाका कर्मचारी कल्याण लामिछानेले जानकारी दिए । डायलासिस सेन्टर सञ्चालनसंगै नगरवासी, छिमेकी नगरपालिका, नुवाकोट तथा रसुवा जिल्लाका नागरिकहरु लाभान्वित हुने बताइएको छ।