प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई
काठमाडौं,साउन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाउनु भएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले शुक्रवार हस्तान्तरण गर्नुभएको हो ।
बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनु भएको छ । कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने बारेमा प्रधानमन्त्रीले विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रवार नै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९ विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवर्द्धनबारे छलफल भएको उक्त मन्त्रालयले जानकारी दिएको छ । आर्थिक अभियानबाट