प्युठान नगरपालिकाले सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा दिने



प्युठान,साउन १५ । प्युठान नगरपालिकाका गर्भवतीले अब निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्।सस्थागत सुत्केरीको संख्यामा वृद्धि गर्न ,प्रसब जटिलताको कारणले हुने मातृ तथा नव शिशु मृत्युदरमा कम गर्न तथा सुत्केरी हुन लागेका गर्भवती आमाहरुको एम्बुलेन्स सेवामा सहजताका साथ पहुँच बढाई सेवाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा निशुल्क गरिएको प्युठान नगरपालिकाले जनाएको छ ।

आर्थिक बर्ष ०७८/०७९ को स्वीकृत बजेट कार्यक्रम अनुसार नगरपालिका भित्रका सुत्केरी महिलाहरुका लागि कुनै पनि स्वास्थ्य संस्थासम्म जान र घर फर्कन निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरिएको प्युठान नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत थानेश्वर भण्डारीले भन्नुभयो । १० वटा वडा रहेको नगरपालिकामा अधिकतम महिलाहरुले प्रसुती सेवा लिन सक्ने स्वास्थ्य शाखाको बिश्वास छ। नगरपालिका भित्रका ६ वटा वडामा बर्थिङ सेन्टर रहेका छन भने अन्य वडाका महिलाहरुले पायक पर्ने स्वास्थ्य सस्थाबाट प्रसुती सेवा लिने गरेको र अहिले पनि केही प्रतिशत महिला घरैमा सुत्केरी हुने गरेको स्वास्थ्य शाखाका प्रमुख गोबिन्द घिमिरेले बताउनुभयो। ‘नगरपालिकाको यस्तो निर्णयले यस वर्ष स्वास्थ्य संस्थामा जोखिम रहित सेवा लिने बढ्नेछन’ उहाले भन्नुभयो।

निशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्नका लागि सुत्केरी महिलाले १ प्रती निवेदन,नागरिकताको प्रतिलिपी ,एनसी कार्ड,शिशुको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी ,एम्बुलेन्स प्रयोग गरे बापतको नगदी रसिद लगायतको कागजात संलग्न गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्