जसपाले लुम्बिनीका तीन सांसदलाई कारवाही गर्ने
काठमाडौँ ,साउन १३। जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले दल नेता चयनका लागि संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश यादव र सुशीला श्रेष्ठलाई चयन गरेको हो । निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिता पाएपछि मंगलबार कार्यकारिणी समिति बैठक बसेको हो ।
लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने
त्यस्तै लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । प्रदेश सरकारमा सहभागी सांसदलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने तयारी जसपाले गरेको छ । बैठकको निर्णयअनुसार प्रदेश सांसदहरू विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निष्कासन गर्न पत्र पठाइने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए । बैठकले पार्टी कार्यालय सचिव तथा कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीलाई निर्वाचन आयोग र अदालत मुद्दा–मामिला हेर्ने जिम्मेवारी दिने निर्णय गरेको छ ।
महन्थ पक्ष सर्वोच्च अदालत जाने
यसैबीच, आधिकारिता गुमाएपछि अफ्ठ्यारोमा परेको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपा आधिकारिता नपाएपछि ठाकुर पक्षको मंगलबार संसदीय दल र कार्यकारिणी समिति बैठक बसेको थियो ।
बैठकपछि नेता लक्ष्मणलाल कर्णले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने जानकारी दिए । आयोगको निर्णयबारे थप कानूनी सल्लाह लिनेक्रम जारी रहेको बताउँदै उनले आयोगले नै आफूहरूको पार्टी विभाजन गरेको आरोपसमेत लगाए । ‘हाम्रो कानुनले के भन्छ, उसैको फैसला अन्तिम हुन्छ ।