प्यूठानमा काठ तस्करीको आरोपमा ५ जनामाथी अदालतमा मुद्धा दर्ता



प्युठान,साउन १२ । जिल्लाको सरुमारानी गाउँपालिका – १ स्थित कालिवन सामुदायिक वन क्षेत्रमा सालको रुख काटेर चोरी तस्करी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सरुमारानी गाउँपालिका वडा नम्वर १ बस्ने अशोक गुरुङ, द्रोण बहादुर सुनार, दुर्गा बहादुर विक सुनार, बोम बहादुर कुमाल र वडा नम्वर ३ गोठेरी हंसपुरका सन्तोष कुमार विक रहेको डिभिजन वन कार्यालय प्यूठानका सहायक वन अधिकृत दिपक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तस्करहरुले प्रयोग गरेको लु ४ त १७३३ नम्बरको ट्याक्टर समेत बरामद भएको छ ।

स्थानिय अशोक गुरुङको घरमा माटोले पुरेर राखेको अवस्थामा ७६ थान चिरानको ४४.५५ क्युफिट सालको काठ फेला परेको सहायक वन अधिकृत केसीले बताउनुभयो।

अशोकको बयान र घटनाको अनुसन्धानको क्रममा थप अन्य व्यक्ति संलग्न रहेको खुलेको केसीको भनाई छ । काठ तस्करीको आरोपमा समातिएका ५ जना ब्याक्ती माथी डिभिजन वन कार्यालयले आवास्यक अनुसन्धान सकेर प्यूठान जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ ।अदालतमा आरोपीहरुको बयान लिने काम भइरहेको समेत केसीले जानकारी दिनुभयो । गत असारमा अबैध ढंगबाट काठ काटेर चोरी तस्करी भईरहेको भन्दै स्थानीयले वन कार्यालयमा जानकारी दिएपछि साल कटानको घटना वाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्