‘इनोभेटिभ इन्डस्ट्रिज अवार्ड’ तीन कम्पनीलाई
काठमाडौं,साउन १२ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिँदै आएको ‘इनोभेटिभ इन्डस्ट्रिज अवार्ड–२०७७’ बाट तीन कम्पनी सम्मानित भएका छन् । अवार्ड पाउने उद्योगहरूमा लिफ प्लस प्रालि, नेपाल्ज ह्याण्डीक्राफ्ट इन्डस्ट्रिज र अनुग्रह ह्याण्डीक्राफ्ट रहेका छन् । मन्त्रालयले सोमवार उक्त उद्योगका प्रतिनिधिलाई सम्मान गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अवार्ड पाउने उद्योगले नवप्रवर्तनकारी उद्यमशीलतामार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि र विविधीकरण गरी स्थानीय रोजगारी सृजनामा थप योगदान पु¥याउने अपेक्षा राखिएको उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । काठमाडौं र ललितपुरमा स्थापना भएका यी तीन उद्योगमध्ये लिफ प्लसले खेर गइरहेका सुपारीका पातबाट विभिन्न आकारमा नयाँ डिजाइनका प्लेटहरू उत्पादन गरी जर्मनी, नेदरल्याण्ड र अष्ट्रेलियामा निर्यात गर्दै आएको छ ।
यसैगरी नेपाल्ज ह्याण्डीक्राफ्ट इन्डस्ट्रिजले अनस्याचुरेटेड पोलिस्टरबाट विभिन्न आकार र स्वरूपमा धातुको जलप लगाइएका मूर्ति बनाउने गरेको छ । यसैगरी अनुग्रह ह्याण्डीक्राफ्टले ढाकाका नयाँ डिजाइनका हातबुना कलात्मक साडी, कुर्ता, सल, टोपी, ब्याग, रुमाल लगायत सामग्री उत्पादन गर्दै आएको छ । यो अवार्डले नवप्रवर्तनात्मक सोचमा आधारित उद्यम गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने विश्वास मन्त्रालयको छ । सचिव पोखरेलले लघु, घरेलु मझौला तथा ठूला उद्योगहरूलाई समेत खोज, अनुसन्धान, आविष्कार र नवप्रवर्तनका क्षेत्रमा पुर्याएको योगदानको आधारमा सम्मान र प्रोत्साहन गरिने बताए । आर्थिक अभियानबाट