कोरोना महामारी अनि विद्यार्थी जीवन
हामीजस्ता विद्यार्थीहरूले कोरोना महामारीबीच परीक्षा हुनु एक अवसर हो भन्ने सोचेकी थिए। कोरोनाको महामारीका कारणले गर्दा धेरै समयदेखी रोकिएको परीक्षा हुन लाग्दा हर्षित बनेकी म पुनः दोधारमा पनि परे । होम सेन्टर भन्दा काठमाडौं नजीक पर्ने अनि खान-बस्नका लागि आफ्नै ठाउँ भएकाले परीक्षा दिन काठमाडौं नै जाने निर्णय गरेँ । हुन पनि आफूलाई जता पायक पर्छ उतै परीक्षा दिने न हो । उत्साहित त थिएँ तर एकाएक परीक्षा दिन पाउने खुसी बिलायो ।
गाउँमा हुँदा घरबाट बाहिर निस्किन आनाकानी गर्ने अनि निस्की हालेपनि मास्क र सेनिटाइजर बोकेर हिँढ्ने म आजको यात्राले निक्कै नै चिन्तित बनायो । गाडी चढने ठाउँसम्म त जोगिएको छु भन्ने भान भइरहेको थियो तर जब बस चढेँ अब म सुरक्षित छु कि नाइ भन्ने डरले सताउन थाल्यो । बस चढेँर हेर्दा बसभरी मान्छे खचाखच थियो अनि मैले “सिट छ त ?” भनेर सोध्दा ‘यस्तै हो हजुर…’ भन्ने गाडीका सहचालकको भनाइ आयो। हुन पनि आधा घण्टा कुरेपछि बल्ल बस आएको थियो ।
अर्को बस आउन कति समय लाग्ने हो फेरी उस्तै खचाखच हुने त होला भन्ने डरले त्यही बसमा चढ्न बाध्य भएँ म । आखिर मलाई गन्तव्यसम्म जसरी पुग्नु थियो । मन अमिलो बनाउँदै रहरको शहरतिरको यात्रा सुरु गरेँ । बसमा चढेको केहि बेरमै भाँडा माग्यो । मैले दुईजनाको पाँचसय दिएँ । गाडीका सहचालकले “भाँडा त पुगेन नि हजुर ! एक जनाको चारसय हो भन्यो । के गर्नु घुस टन्नै दिनपर्छ नत्र बस काठमाडौं छिर्न दिँदैन ।” अनि पहिलाको भाडादर? मैले प्रश्न गरे। तर आफैमा अनुत्तरित ।
म एक प्रतिनिधि पात्र मात्र हु। नुवाकोट जिल्ला स्तरमा सामुदायिक विद्यालय कोभिड कै आतंकले हालसम्म बन्द छ। सरकारले खोलेको उच्च शिक्षा तहका परीक्षा दिन म स्वयं कति बाधाअडचन ब्यहोर्दै अगाडि बढिरहेको छु। नाम मात्रैको निषेधाज्ञा देशभर लागु छ। स्वास्थ्य सुरक्षाका मापदण्ड न अपनाइएको छ, न पालनाका लागि सरकारी तवरबाट सुझाव दिइएको छ। कोरोना महामारी बीच भ्याक्सिन आयो। तर उमेर तोक्दा हामी जस्तो हजारौं युवा डर त्रास र आतंकित मन बोकेर हिड्नुपरेको छ। देशमा तीन लाख खोप हराएको सुनिन्छ तर म जस्तो आम विद्यार्थी जगतको पहुँचमा छैन।
कतिपय साथीहरूले त ब्ल्याकमा खोप लगाइसके। तर म अवाक छु। किन कि मेरो पहुँच छैन चिनजान कम छ। तर पनि कोरोना महामारी बीच यो विद्यार्थी जीवन अनवरत अगाडि बढाउन प्रयत्नशील छु।