यातायात व्यवसायीको सातबुँदे माग : प्रधानमन्त्रीलाई बुझाए सवारीसाधनको साँचो
काठमाडौं,साउन ११ । यातायात व्यवसायीले सातबुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई सवारीसाधनको साँचो बुझाएका छन् । आइतवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनपछि उनीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीईओ) कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री देउवालाई सवारीसाधनको नमूना साँचो बुझाएका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघमा आबद्ध व्यवसायीले विभिन्न माग राख्दै आन्दोलन शुरू गरेका छन् । माग पूरा गर्न साउन २४ गतेसम्मको अल्टिमेटम दिँदै उनीहरूले माग सम्बोधन नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । आपूmहरूले अघि सारेको सातबुँदे माग सम्बोधन नभएपछि हाल सवारीसाधनको डेमो साँचो बुझाइएको र माग पूरा नभए साउन २४ गतेपछि सवारीसाधन सञ्चालन बन्द गरेर आन्दोलनमा उत्रिने महासंघका उपमहासचिव केशव नेपालले बताए ।
व्यवसायीले असार २४ गतेदेखि यातायातसँग आबद्ध चालक, सहचालक तथा कर्मचारीलाई कोभिडविरुद्धको खोप लगाउन शुरू गर्नुपर्ने मुख्य माग राखेका छन् । सरकारले गत असार २९ गतेदेखि सार्वजनिक यातायातमा आबद्ध व्यक्तिलाई खोप दिइएको बताए पनि खोपको राम्रो व्यवस्था हुन नसकेको महासंघको भनाइ छ । साउनदेखि लागू हुनेगरी अन्तरप्रदेशमा चल्ने यातायातको भाडा समायोजन गरिएकोमा प्रदेशभित्रै चल्ने यातायातका साधनको भाडा पनि समायोजन गर्नुपर्ने माग महासंघले राखेको छ ।
यसैगरी मौद्रिक नीतिमार्फत व्यवसायीका समस्या समाधान गर्नुपर्ने, निषेधाज्ञा अवधिभरको राजस्व छूट हुनुपर्ने, यातायात क्षेत्रलाई अतिप्रभावित क्षेत्रअन्तर्गत राखेर कर्जा÷पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने लगायत माग यातायात व्यवसायीको छ । साथै निषेधाज्ञा अवधिको जरीवाना र नवीकरण शुल्क छूट गर्नुपर्ने, ट्याक्सीको भाडा समायोजन गर्दै गैरकानूनी रूपमा चलेका राइड शेयरिङ व्यवसाय रोक्नुपर्ने, बीमा नीति परिमार्जन हुनुपर्ने, सवारीसाधनको २० वर्षे म्याद थप हुनुपर्ने र सडक कानून संशोधन गर्नुपर्ने माग समेत राखिएको छ ।
यातायात व्यवसायीले गत बिहीवार काठमाडौंका सडकमा सवारीसाधनको र्याली निकालेर ट्राफिक व्यवस्थापन अस्तव्यस्त पारेका थिए । आर्थिक अभियानबाट