सन्थालको व्यवस्थित बस्ती बन्ने
काठमाडौं, साउन ८ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको जानकारी दिए ।
उनले भने, “सन्थाल बस्ती निर्माणका लागि सम्झौता भई ठेकेदार कम्पनीले कार्यादेशसमेत पाइसकेको छ ।
अब काम छिट्टै सुरु हुन्छ ।” यसअघि सो बस्ती निर्माणका लागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन १८ गते सो बस्ती निर्माणको शिलान्यास गर्नुभएको थियो ।
एकाइ प्रमुख यादवका अनुसार अबको दुई वर्षभित्र सो एकीकृत बस्तीको निर्माण सम्पन्न हुनेछ । कुल लागत १८ करोड रुपियाँमा निर्माणको जिम्मा सगुनरशर्मा ९ज्वाइन्ट भेञ्चर० ले पाएको छ । अहिले नदी किनारामा ७० सन्थाल घरपरिवार नरकट र खरको छानाले बारेर बनाएको घरमा बसिरहेका छन् ।
बस्तीसँगै सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, बिजुलीबती, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको संरचना पनि निर्माण गरिने बताइएको छ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।