चितवनमा मृत भेटिएका ब्यक्ति धादिङको भएको पुष्टि
काठमाडौ,साउन ७ । चितवनस्थित भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका भरत गुरुङको भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी अन्दाजी २७ वर्षीय भरत गुरुङ हुन् । बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनको बायाँतर्फको कन्चटमा गहिरो चोट देखिएको छ । नजिकै गोलीको खोका भेटिएकाले उनलाई कसैले गोली हानी हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
गुरुङ आफन्तकहाँ जाँदा घटना भएको प्रहरीको भनाइ छ । हालसम्म घटनामा प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।