नुवाकोटको दुप्चेश्वरमा पहिरोले तीन घर पुर्यो, एक गम्भीर घाइते, १५ घर उच्च जोखिममा
नुवाकोट,साउन ६ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं.७ शिखरवेंसीका तीन घर पहिरोले पुरेको छ। बुधबार बिहान ९:४५ बजे गएको पहिरोले तीनवटा घर पुरेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङले बताए ।
वडा नम्बर ७ को पहरो मुनि भन्ने ठाउँमा गएको पहिरोमा परी रामचन्द्र नेपाली,विष्णु नेपाली र शान्ता दमाईको घर पुरिएको छ। पहिरोमा परी बिष्णु नेपालीको १६ वर्षीय छोरी अस्मिता नेपाली गम्भीर घाइते भएकी छिन भने बाकी दुई जनाको सकुशल उद्धार गरिएको छ। घाइते अस्मिताको गम्भीर अवस्था भएकाले थप उपचारार्थ काठमाडौ पठाइएको अध्यक्ष तामाङले बताए । पहिरोमा परी २ वटा खसीको मृत्यु भएको छ भने एक भैंसी घाइते भएको छ।
गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार पहिरोले थप १५ वटा घर समेत उच्च जोखिममा पारेको छ। जोखिममा परेका घरलाई तत्काल उद्धारका प्रयास गरिएको उनले बताए। अध्यक्ष तामाङले साझापथसंग कुरा गर्दै भने-‘गाउँपालिकाबाट इन्जिनियरसहितको प्राविधिक टोली खटाइसकिएकोछ, सम्भावित क्षतिको अनुगमन पश्चात् भोलिनै स्थान्तरणका कार्यक्रम समेत गर्न हामी तयारी छौं।’
पहिरो गएको स्थानमा गाउँपलिकाका अध्यक्षसहितको जनप्रतिनिधि टोलीले बुधबार नै अनुगमन समेत गरेको छ।पहिरोमा परी घरबास गुमाएका नेपाली परिवारलाई राहतका सामग्री वितरण गरेको छ। गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीमार्फत पहिरो पीडितहरुलाई खाद्यान्न,भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरि सुरक्षित बासस्थानको ब्यवस्थापन समेत गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ।