नुवाकोटमा ८१ प्रतिशत धान रोपाइँ सकियो



नुवाकोट,साउन ५। नुवाकोटमा ८१ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटका अनुसार जिल्लाको मुख्य धान उत्पादन क्षेत्रहरुमा रोपाइँ सकिइसकेको जनाएको छ ।

कोभिडको फुर्सदिलो दिनसंगै यस वर्ष समयमै मनसुन वर्षा भएकालेे रोपाइँ असारको आधाआधीमै धेरै जसोले सम्पन्न गरिसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानीय तह रहेको नुवाकोटको अधिकांश स्थानमा धान उत्पादन हुने गरेको छ । तथापि मनसुन सक्रिय भईरहेकाले बाकी रोपाइँ समेत समयमै सम्पन्न हुने कृषि ज्ञान केन्द्र नुवाकोटका कृषि अर्थबिज्ञ बिशाल ढकालले बताए ।

ढकालका अनुसार, आईतवारदेखि पुनः मनसुन सक्रिय भएकाले जिल्लामा केही स्थानमा बाँकी रहेको रोपाई पनि छिट्टै सम्पन्न हुने बताए। नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ११ हजार ५ सय ६९ हेक्टर क्षेत्रफल अर्थात ८१ प्रतिशतमा रोपाइँ सकिएको केन्द्रले जनाएको छ। त्यस्तै रसुवाको पनि अधिकांश स्थानमा रोपाई सम्पन्न भइसकेको उनले बताए । रसुवामा हालसम्म ८३ प्रतिशत रोपाइँ सम्पन्न भैसकेको छ।रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ९ सय ७ हेक्टर क्षेत्रफल अर्थात ८३ प्रतिशत रोपाइँ सम्पन्न भैसकेको केन्द्रले जनाएको छ।

यता वाग्मती प्रदेश सरकारले सेवा क्षेत्रमा ९० प्रतिशत रोपाई सम्पन्न भएको तथ्यांक उल्लेख गरेको छ। यससगै धान उत्पादनमा वाग्मती प्रदेश आत्मनिर्भर हुने संकेत देखिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार बागमती प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफल मध्ये श्रावण ५ गतेसम्म १ लाख २१ हजार ३६ हेक्टर क्षेत्रफल अर्थात ९० दशमलव ७७ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशले पनि समयमा नै मनसुन सुरु हुनु, कोभिड १९ को कारणवाट विदेशवाट फर्किएका र स्वदेशमा रहेका मानिसहरु कृषि पेशामा लाग्नु, गाँउ–गाँउमा वसोवास बढ्नु, स्थानीय सरकारको कृषिमा सक्रियता, बाझो जमिनमा खेतिको सुरुवात हुनु, प्रदेश सरकारको खाद्यान्नमा आत्मनिर्भर हुने अभियान लगायत प्रदेश सरकारको कार्यक्रमहरुवाट बोरिङ्ग, सौर्य सिचाई तथा लिफ्ट सिचाई सिञ्चित क्षेत्र विस्तार हुनु, कृषिमा यान्त्रिकीकरण आदि कारणले गर्दा धान खेती गरिने क्षेत्रफलमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

कुन–कुन जिल्लामा कति भए रोपाई

वाग्मती प्रदेशको अन्न भण्डारको रुपमा चिनिने चितवनमा ९६ प्रतिशत रोपाइँ सकिएको छ । चितवनमा धान खेती हुने २८ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये २७ हजार ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत दिपेन्द्रमणि लामिछानेले जानकारी दिए । यस्तै मकवानपुरमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

मकवानपुर जिल्लामा ११ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार ७ सय ८० हेक्टर क्षेत्रफल अर्थात ९८ प्रतिशतमा रोपाइँ सकिएको हो । त्यस्तै नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ११ हजार ५ सय ६९ हेक्टर क्षेत्रफल अर्थात ८१ प्रतिशतमा रोपाइँ सकिएको छ । यस्तै रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ९ सय ७ हेक्टर क्षेत्रफल अर्थात ८३ प्रतिशत , ललितपुरमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ५ सय ५४ हेक्टर क्षेत्रफलमा (९९ प्रतिशत) , भक्तपुरमा ४ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा अर्थात ९९ प्रतिशतमा रोपाइँ सकिएको छ ।

यस्तै काठमाडौंमा पनि ७ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ८ सय १ हेक्टर क्षेत्रफलमा (९९ प्रतिशत) , काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा (८५ प्रतिशत) , सिन्धुपाल्चोकमा १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमध्ये ९ हजार ७ सय ८८ हेक्टर क्षेत्रफलमा (८० प्रतिशत) , रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ९ सय २९ हेक्टर क्षेत्रफलमा ९० प्रतिशत , दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये २ हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा (९५ प्रतिशत) , त्यस्तै, सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये १३ हजार ३ सय ११ हेक्टर क्षेत्रफलमा ८७ प्रतिशत रोपाइँ सकिएको छ भने धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार ५ सय ६० हेक्टर क्षेत्रफलमा (८८ प्रतिशत) रोपाइँ सकिएको छ ।

हालसम्म वाग्मती प्रदेश भित्रका १३ वटा जिल्लामा वर्षेनी धान उत्पादन हुने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफल मध्य १ लाख २१ हजार ३६ हेक्टर क्षेत्रफल अर्थात प्रदेश भित्र ९० दशमलव ७७ प्रतिशत मात्र रोपाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्