लुम्बिनी प्रदेशकै उत्कृष्ट बन्यो अर्घाखाँची अदालत
दाङ,साउन ५ । अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न सफल भएको हो । कुल मुद्दाको ७०.९३ प्रतिशत मुद्धा फर्छ्यौट गरेको अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्धा फर्छ्यौट गर्ने जिल्ला बनेको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा बाँकी रहेका १ सय ४९ थान र गत आर्थिक वर्ष २०७७÷०७८ का २ सय ८० थान गरी ४ सय ३० थान मुद्धा रहेकोमा यस आर्थिक वर्षभित्र ३ सय ५ थान मुद्धा फर्छ्यौट भएको अदालतका श्रेस्तेदार महेश खनाले जानकारी दिए ।
अर्घाखाँची पछी सबैभन्दा बढी प्युठान जिल्ला अदालतले ७०.३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६.४१ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ । अर्घाखाँची जिल्ला अदालतमा अब १ सय २५ थान मुद्धा मात्र बाँकी रहेका छन् । अदालतले गत आर्थिक वर्षमा ३ सय मुद्धा फैसला गर्ने लक्ष्य राखेकोमा ३ सय ५ थान अर्थात लक्ष्यको तुलनामा १०१.६६ प्रतिशत मुद्दा फछ्यौट गरेको जनाएको छ ।