‘मै मरे तिमीलाई कसले माया गर्छ…’



मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ
मैं मरे तिमीलाई कसले माया गर्छ

जाजरकोट कुशे गाउँपालिकका ९ की ४५ वर्षीया कमलादेवी शाहीले यो गीत पटक पटक सुनेकी थिइन् । उनको जिन्दगीमा यस्तो मोड आयो, श्रीमान् ४७ वर्षीय भरतविक्रम शाहीका लागि मुटु त होइन, कलेजो चाहियो । कलेजो भने दिन मिल्ने थियो । आधा आधा बाँडेर साझा जिन्दगी खुशीसाथ बाँच्न सम्भव थियो ।

त्यही भएर उनी खुशीसाथ तयार भइन् । र, श्रीमानले नयाँ जीवन पाए । भरतविक्रमलाई अस्पताल ल्याउँदा कलेजो ८० प्रतिशत बिग्रिइसकेको थियो । अस्पताल ल्याउँदा श्रीमान् घर फर्किन्छन् भन्ने सोचेकी रहिनछन् श्रीमती कमलादेवीले । कलेजो प्रत्यारोपण नगरे भरतविक्रमको आयु बढीमा चार महिना भनिएको थियो ।

चिकित्सकले कलेजो प्रत्यारोपण गर्न मिल्ने बताएपछि कमलादेवीको आशा जाग्यो । तर, कलेजो कसले दिने रु आफन्त, नतागोता खोज्न थालिन् । त्यसपछि कमलादेवीले ने आँट गरिन्, ‘आफ्नै कलेजो दिएर श्रीमानलाई बचाउँछु ।’ दुई छोरा र जेठी छोरीले कलेजो दिन चाहे पनि उनीहरुलाई रोकेर कमलादेवी आफैँ अघि सरिन् ।

परिक्षणबाट रगतको समूह मिल्यो । रोग केही देखिएन । कमलादेवीलाई श्रीमान् बचाउन सकिन्छ भन्ने लाग्यो । ‘जसरी पनि बचाउँछु भनेर आँटेपछि डर पनि लागेन । कि दुईवटै मर्ने कि दुई बाँच्ने भनेर तयार भएँ, उनी भन्छिन्, श्रीमानको स्वास्थ्यका अगाडि केही डर लागेन ।’

यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्