नुवाकोटको पञ्चकन्या र शिवपुरीमा आज लगाइने कोरोना खोपको यस्तो छ तयारी



नुवाकोट, साउन ५ । जिल्लाको पञ्चकन्या र शिवपुरी गाउँपालिकामा आज मंगलबार लगाइने खोरोनाविरुद्धको खोप कार्यक्रमको तयारी पुरा भएको छ। पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ र शिवपुरी गाउँपालिकाको वडा नम्बर १ देखि ८ का विभिन्न स्वास्थ्य केन्द्रहरुमा कोरोना खोप लगाउने तयारी पुरा भएको गाउँपालिकास्थित स्वास्थ्य शाखाहरुले जनाएको छ।

पञ्चकन्या गाउँपालिकास्थित स्वास्थ्य शाखाका स्वास्थ्य सह-संयोजक नारायण थापाका अनुसार सेवा क्षेत्र अन्तर्गत वडा नम्बर १ को बानियाँटार सामुदायिक स्वास्थ्य इकाई,आँपचौर घुम्ती स्वास्थ्य इकाई, वडा नम्बर २ को कविलास स्वास्थ्य चौकी र बेसीकठेरी सामुदायिक स्वास्थ्य चौकी, वडा नम्बर ३ मा पञ्चकन्या स्वास्थ्य चौकी मा कोरोना खोप लगाइनेछ।

त्यस्तै गाउँपालिकाको वडा नम्बर ४ को थप्रेक स्वास्थ्य चौकी र स्कुल डाडा सामुदायिक स्वास्थ्य चौकी, वडा नम्बर ५ को भद्रुटार स्वास्थ्य चौकी र मिश्रापधेरो घुम्ती सामुदायिक स्वास्थ्य केन्द्रमा कोरोना खोप लगाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।

पञ्चकन्याको सेवा क्षेत्रमा हाललाई २७० डोज खोप प्राप्त भएको पञ्चकन्या स्वास्थ्य शाखाका सह- संयोजक थापाले बताए। केन्द्र सरकारको निर्देशन अनुसार प्राप्त खोप ५५ वर्षमाथि उमेर समूहका नागरिक,छुटेका शिक्षक, सवारी चालक,सह-चालकलाई उक्त खोप लगाइने गाउँपालिकाले जनाएको छ।

त्यस्तै शिवपुरी गाउँपालिकामा समेत आज लगाइने कोरोना खोप कार्यक्रमको तयारी पूरा गरेको छ। कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन तयारी गरिएको गाउँपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उद्धब कार्कीकाअनुसार यस पटक ५५ बर्ष माथिका उमेर समूहका नागरिकलाई खोप दिइनेछ। सेवा क्षेत्रका ८ वटै वडाहरुबाट खोप दिइने उनले बताए । स्वास्थ्य संस्थामा आउँदा स्वास्थ्य मापदण्ड अपनाई परिचय खुल्ने पत्रसहित सम्बन्धित स्वास्थ्य संस्थामा उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्