चितवनमा मृत अवस्थामा दुई गैंडा फेला
चितवन,साउन ४ । आइतबार चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला परेका छन् । मृत भेटिएका गैंडामध्ये एउटा बुढो र अर्को बच्चा रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । बच्चा गैंडा बाघको आक्रमणबाट मरेको हुनसक्ने उनले बताए ।
यस्तै अर्का एक अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । उक्त गैंडा भने अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा फेला परेको हो। नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो ।
ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उहाँले दुबै प्राकृतिक कारणले मरेको बताउनुभयो । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२ गैँडा मरेका थिए । अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैंडा मरेका थिए ।