पञ्चकन्याको विभिन्न स्वास्थ्य केन्द्रमा भोलि मंगलबार कोरोना खोप लगाइने



नुवाकोट, साउन ४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रमा भोलि मंगलबार साउन ५ गते कोरोनाविरुद्धको खोप लगाइने भएको छ। गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ का विभिन्न स्वास्थ्य केन्द्रहरुमा कोरोना खोप लगाउने तयारी गरिएको पञ्चकन्या गाउँपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाका स्वास्थ्य सह-संयोजक नारायण थापाका अनुसार सेवा क्षेत्र अन्तर्गत वडा नम्बर १ को बानियाँटार सामुदायिक स्वास्थ्य इकाई र आँपचौरमा, वडा नम्बर २ को कविलास स्वास्थ्य चौकी र बेसीकठेरी सामुदायिक स्वास्थ्य चौकी, वडा नम्बर ३ को पञ्चकन्या स्वास्थ्य चौकी मा कोरोना खोप लगाइनेछ।

त्यस्तै गाउँपालिकाको वडा नम्बर ४ को थप्रेक स्वास्थ्य चौकी र स्कुल डाडा सामुदायिक स्वास्थ्य चौकी, वडा नम्बर ५ को भद्रुटार स्वास्थ्य चौकी र मिश्रापधेरो घुम्ती सामुदायिक स्वास्थ्य केन्द्रमा कोरोना खोप लगाइने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

सेवा क्षेत्रमा हाललाई २७० डोज खोप प्राप्त भएको पञ्चकन्या स्वास्थ्य शाखाका सह- संयोजक थापाले बताए। केन्द्र सरकारको निर्देशन अनुसार प्राप्त खोप ५५ वर्षमाथि उमेर समूहका नागरिक,छुटेका शिक्षक, सवारी चालक,सह-चालकलाई उक्त खोप लगाइने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्