प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त
काठमाडौं, साउन ४ । प्रधानमन्त्री सेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए । कुल मतदाता २४९ उपस्थित रहेकोमा उनको पक्षमा १६५ मत खसेको छ भने विपक्षमा ८३ मत परेको थियो । साथै एक संसद तटस्थ रहेका थिए। प्रधानमन्त्री देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
यसैबीच विश्वासको मत पाउनु अघि प्रधानमन्त्री देउवाले आफूले राखेको विश्वासको मत माग्ने प्रस्तावमा समर्थन जनाउने दलहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।प्रतिनिधिसभा बैठकमा दलीय रुपमा दलका नेताहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएपछि संसदमा उठेको जिज्ञासाको जवाफ दिदै प्रधानमन्त्री देउवाले धन्यवाद व्यक्त गरेका हुन ।
प्रतिनिधिसभा विघटन गर्न कसैले नसकोस् भनेरै संविधानको धारा ७६ उपधारा ५ राखिएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नेपाली भूभागसहितको नक्सा छाप्ने र भूमि फिर्ता ल्याउने काममा सबै दलको साझा सहयोग रहेको बताए । त्यसकालागि आफू नेतृत्वको सरकारले पनि पहल लिने बताए ।