प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिनेे, प्रस्ताव संसद सचिवालयमा दर्ता
काठमाडौ, साउन ३। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले आइतबार अपरान्ह ४ बजे बस्न बोलाइएको प्रतिनिधिसधा संसद अधिवेशनमा विश्वासको मत लिन लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतको प्रस्ताव कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा समेत दर्ता गरिसकेको न्यौपानेले बताए ।
गत जेठ ८ गते विघटित प्रतिनिधिसभा असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित गरेको थियो । असार २९ गते राष्ट्रपतिबाट पदभार तथा गोपनीयताको सपथ लिएका प्रधानमन्त्री देउवाले आज पहिलो पटक बस्न लागिएको प्रतिनिधिसभा संसदमा नै विश्वासको मत लिन लागेका हुन ।
संसदमा हाल कायम रहेको २७१ सांसदमा विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई कम्तीमा १३६ मतको आवश्यक पर्छ । काँग्रेसको ६१, माओवादीको ४९ गरी ११० सङ्ख्या पुग्छ । त्यस्तै उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग अहिले १२ सांसद छन् । थप पाँच सांसद महन्थ ठाकुर पक्षबाट आएको सो पक्षले दाबी गरेको छ । यस हिसावले उपेन्द्र पक्षसँग १७ सांसद पुगेका छन् । सो पक्ष पाँच दलीय गठबन्धनमा रहेकाले देउवासँग १२७ सांसद सहज उपलब्ध हुनेछन् ।
विश्वासको मत लिनका लागि प्रधानमन्त्री देउवालाई थप ९ सांसदको आवश्यकता पर्छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सहयोग गर्ने अपेक्षा देउवालाई छ । नेपालसँग २३ सांसद रहेका छन् । प्रधानमन्त्री देउवाले पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी गरेपछि नेता नेपाल पक्ष थप दवावमा परेको छ । विघटित कार्यदलका सदस्यहरु विश्वासको मत दिने नदिने विषयमा छलफल गर्न अहिले कोटेश्वर पुगेका छन् एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।