कार्यान्वयनमा आयो श्रमिकको बढेको न्यूूनतम पारिश्रमिक
काठमाडौ,साउन २ । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा ल्याएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुर्याउने घोषणा गरेका थिए । अब श्रमिकले आधारभूत पारिश्रमिकबापत रु नौ हजार ३ सय ८५ र महँगी भत्ताबापत रु पाँच हजार ६ सय १५ गरी मासिक रु १५ हजार पाउने छन् । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ३६१ र महँगी भत्ता रु २१६ गरी प्रतिदिन रु ५७७ पाउने छन् । यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ४८ र महँगी भत्ता रु २९ गरी प्रतिघन्टा रु ७७ पुुगेको छ ।
यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १३ हजार ४५० रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई÷दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।