जसपाका अध्यक्ष ठाकुरलाई ठूलो घाटा, उपेन्द्र यादव शक्तिशाली बन्दै
काठमाडौ,साउन २ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई ठूलो घाटा हुने देखिएको छ । सरकारमा झण्डै तीन साता बसेका ठाकुर पछिल्लो क्रममा राजनैतिक समस्या भोग्न विवश बनेका हुन । ठाकुरलाई जसपाका नेता राजेन्द्र महतोले सरकारमा लगेर मिसाउँदा बचेखुचेको राजनीतिक इमान्दारिता पनि गुमेको आरोप छ ।
ठाकुरलाई फसाउने काम महतोले नै गरेका हुन् । उप–प्रधानमन्त्री र मन्त्री बन्न महतोमा पलाएको असीमित आकांक्षाले गर्दा ठाकुर बद्नाम भएको आरोप छ ।
ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन् । ६ जना सांसद नै अनुपस्थित भएपछि ठाकुरलाई झन् ठूलो घाटा भएको छ । ६ जना सांसद नआएपछि ठाकुर–महतो चिन्तित बन्न पुगेका छन् । उनीहरूभित्र तनाबको अवस्था सिर्जना भएको छ ।
ठाकुरसँग २० सांसद छन् । ठाकुर समूह सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ ।
बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित भएका छन् । बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र शुरु भएको छ ।
केपी ओलीको सरकारमा मन्त्री नबनाएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन् ।