काङ्ग्रेस महाधिवेशन भदौमै: देउवा
काठमाडौं, साउन २ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने निष्कर्ष पनि निकालेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भदौमा तोकिएको महाधिवेशन एक दिन पनि नसर्ने स्पष्ट पार्नुभएको छ । काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय यसअघि नै भइसकेको छ ।
बैठकपछि गोरखापत्रसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै हुन्छ, निर्वाचन निर्देशिकामा रहेका व्यवधानलाई समाधान गर्न एउटा समिति गठन भएको छ । त्यसले सबै कुराको अध्ययन गरेर समाधान खोज्ने छ ।’
निर्देशिकामा देखिएका समस्या समाधानका लागि पदाधिकारी बैठकले पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको बताइएको छ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।