नुवाकोट पञ्चकन्याको घ्याङस्वारामा बन्यो होमस्टेसहितको पर्यटकीय पार्क



नुवाकोट,साउन १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारामा होमस्टेसहितको पर्यटकीय पार्क निर्माण भएको छ। कुल २० रोपनी जग्गा क्षेत्रफलमा फैलिएको सो पार्क निर्माणका लागि गत आर्थिक वर्षको पञ्चकन्या गाउँपालिका र प्रधानमन्त्री स्वरोजगार कोषबाट ५२ लाख खर्चिएको छ।

सामुन्द्रीक सतहबाट १६ सय मिटर उचाइमा रहेको उक्त पार्क काठमाडौको टोखा- छहरे- घलेभञ्ज्याङ् हुँदै झण्डै तीनघण्टाको मोटर यात्रा पश्चात् पुग्न सकिन्छ। पछिल्लो समय स्थानीयस्तरमा वनभोज तथा भ्रमण गर्ने केन्द्रको रुपमा समेत लिइने सो पार्कमा टाढाबाट आउने नव आगन्तुकको बसाइँ सुरक्षीत प्रत्याभूत गराउन अटेज बाथरुमसहितको आरामदायी बस्ने कोठा, भान्साघर, तातो चिसो पानीको व्यवस्थापन समेत गरिएको छ। अर्गानिक कोदोको ढिंडो तथा लोकल कुखुराको स्वादमा रमाउने बाह्य पर्यटकका लागि मनोरञ्जनका थप कार्यक्रम समेत आगामी दिनमा आयोजना गर्ने गाउँपालिकाको योजना रहेको छ।

पञ्चकन्या गाउँपालिकका इन्जिनियर तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सहायक कपिल शाहका अनुसार उक्त पार्क नजिकै रहेको सिद्दीगणेश मन्दिर अवलोकनका लागि पथमार्ग समेत निर्माण गरिएको छ। इन्जिनियर शाहका अनुसार १ सय १३ वटा सिढी समेत निर्माण सम्पन्न गरिएको छ। मनोरम प्राकृतिक छटा बीच रहेको यस घ्याङस्वाराको उत्तरतर्फ आकर्षक हिमशृङ्खलाले जोकोहीलाई मन्त्रमुग्ध बनाउने गर्द्छ।

यस पर्यटकीय स्थानमा पिकनिक स्पटको अलावा खानेपानीको ट्यान्की स्थापना, पर्यटक आवास निर्माण सम्पन्न भैसकेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए। गाउँपालिकाका अध्यक्ष तामाङले उक्त पार्कमा द्वन्दकालमा ज्यान गुमाएका सेवा क्षेत्रका शहिदहरुको प्रतिमा स्थापना कार्यक्रम यसै वर्ष सम्पन्न गर्ने कार्यक्रम रहेको बताए। उनले भने – ‘पालिकाकै सुन्दर भूमिको रुपमा परिचित घ्याङस्वारालाई थप पर्यटन प्रवर्द्धन गर्छौ र तत्काल एक खेलकुदको मैदान निर्माण कार्य समेत अगाडि बढाएका छौ।’

होमस्टे अनि पदयात्रासहितको निर्माणाधीन पार्क

प्रतिक्रिया दिनुहोस्