शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने



नुवाकोट,साउन १ । शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने भएको छ। कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको गाउँपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उद्धब कार्कीकाअनुसार यस पटक ५५ बर्ष माथिका उमेर समूहका नागरिकलाई खोप दिइनेछ। सेवा क्षेत्रका ८ वटै वडाहरुबाट खोप दिइने उनले बताए । स्वास्थ्य संस्थामा आउँदा स्वास्थ्य मापदण्ड अपनाई परिचय खुल्ने पत्रसहित सम्बन्धित स्वास्थ्य संस्थामा उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ।

शिवपुरीमा स्वास्थ्य क्षेत्र उल्लेख्य प्रगति

राजधानी काठमाडौसंगै जोडिएको भएपनि शिवपुरी गाउँपालिका भौगोलिक भूबनोटका कारण उन्नतिका प्रयासका बाबजुद समस्याका बीच अगाडि बढिरहेको गाउँपालिका हो। यद्यपि गाउँपालिकाले अन्य क्षेत्रसंगै स्वास्थ्य क्षेत्रमा समेत उन्नतिका खुड्किलाका साथ अगाडि बढेको अनुमान गर्न सकिन्छ। पछिल्लो वर्ष यता शिवपुरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति र सफलता हात लगाएको देखिन्छ।

गाउँपालिकाको प्रगति विवरणका आधारमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको पुष्टि हुने सरोकारवालाहरु बताउँछन् । पछिल्लो तथ्यांक हेर्दा स्वास्थ्यका शसर्तको ८०% कार्यक्रम हरु सम्पन्न भएको पाइन्छ। झनै महामारीको रोकथाम नियन्त्रणमा आफ्नै गाउँपालिकाको बजेटमा एमबीबीएस डाक्टरसहितको २०बेड आईसोलेसन बिरामी र कुरुवा लाई समेत खाना खाजा सहितको कार्यक्रम सञ्चालनमा रहेको छ।

त्यस्तै गाउँपालिकामा अनुभवी स्वास्थ्यकर्मी उद्धब कार्कीको संयोजकत्वमा स्वास्थ्य शाखा स्थापना पश्चात् नागरिक स्वास्थ्य चेकजाँच तथा परामर्शका कार्यक्रमले समेत अधिक निरन्तरता प्राप्त गरेको छ। ग्रामिण भिडियो एक्स रे (गर्भवतीको लागी) मेसिन तथा तालिम दिई वडा नम्बर १ बाट शुरुवात गर्दै सबै वडामा महिनामा १ पटक नि:शुल्क चेकजाँचको ब्यवस्थापन गरिएको छ।टीटी खोप सबै स्वास्थ्य संस्थाबाट निशुल्क त्यस्तै रेबिज सुई आधारभुत अस्पतालमा समेत नि:शुल्क गरिएको छ।

विगतका दिन स्मरण गर्दा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण कडी पार गरेको अनुभूत गर्न सकिन्छ। हाल स्वास्थ्य इकाई भवन १२ कोठे निर्माणको अन्तिम चरणमा पुगेको छ । आधारभुत अस्पताल ३/४दिनमै आफ्नै भबनमा सारिदैछ। नयाँ एम्बुलेन्ससहित स्वास्थ्य सामग्री(एक्सरे, भिडियो एक्सरे, ल्याब, ईसिजी लगायतका सबै मेसिन हरु खरिद गरी यसै आर्थिक वर्षदेखि नयाॅ भवनबाट सेवा सुरु हुने गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए।

अध्यक्ष थापाका अनुसार वडा नम्बर ५ र ६ मा नयाॅ बर्थिड सेन्टर स्थापना समेत सम्पन्न भएको छ। त्यस्तै शिवपुरीको वडा नम्बर २ बाहेक सबै वडामा २४ घण्टे सुत्केरी सेवासहित वर्थिङ सेन्टरका कार्यक्रम अगाडि बढाइएको छ। कोभिडको सन्दर्भमा गाउँपालिकले कोभिड -१९ भएकाहरुलाई पोषण खर्च बापत रु ३०००दिदै आएको र श्रावण देखि ५०००/- दिने गाउँपालिकाको योजना रहेको छ। कोभिड -१९ पोजेटिभ भएका तर बिमा नभएका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई २५ हजार एकमुष्ट दिने कार्यक्रम समेत गाउँपालिकाको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्