आज साउने संक्रान्ति, यसरी फाल्नुहोस लुतो
काठमाडौं, साउन १ । साउन १ गते अर्थात साउने संक्रान्ति, कर्कट संक्रान्ति पर्व देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्ति रुपमा मनाउने प्राचिन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुने बताइन्छ ।
परम्परागत रूपमा एक हिसाबले यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ । साथै, कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।
यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ ।
पाैराणिक विश्वास
वर्तमान समयमा प्रचलनमा रहेको मेषादि निरयण १२ राशिचक्र मध्ये चौथो साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ।
लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।