कोभिड खोपको प्राथमिकतामा निजी क्षेत्रलाई तत्काल राख्न माग
काठमाडौं,साउन १ । कोभिड खोपको प्राथमिकतामा निजी क्षेत्रलाई तत्काल राख्न माग गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग छुट्टाछुट्टै भेटवार्ता गरी निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग गरेको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बिहीवार प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासँग सिंहदरवारमा छुट्टाछुट्टै भेटवार्ता गरेको थियोे ।
सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न ध्यानाकर्षण गराएको थियो ।