कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट त्रिशुली अस्पतालमा सुत्केरी गराइयो



नुवाकोट,असार ३१ । जिल्लास्थित त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । संक्रमित महिला रसुवाकी ३५ वर्षीया महिला रहेको अस्पताल श्रोतले जनाएको छ। उनको बिहिबार दिउँसो अस्पतालमा शल्यक्रिया मार्फत बच्चा निकालिएको हो ।

जिल्ला अस्पतालका प्रमुख डा. दिपेन्द्र पाण्डेका अनुसार महिलालाई सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको थियो । सुत्केरी हुने मिति बुधबार मात्र नाघेको थियो । एन्टीजेन र पिसिआर परीक्षण दुवै गर्दा कोरोना पुष्टि भएकी ती महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियामा स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहाल र डा. रिमा खड्काको समूहले जटिल परिस्तिथि संक्रमित महिलाको सफल शल्यक्रिया गरिएको उनले बताए ।

बुधबार अस्पताल भर्ना भएकी ती महिला सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रियामार्फत सुत्केरी गराइएको शल्यक्रियामा संलग्न स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहालले बताए । ती महिलाको यो दोस्रो शल्यक्रिया हो । पहिलोपटक पनि थापाथलीको प्रसुती गृहमा शल्यक्रियामार्फतनै सुत्केरी गराईएको थियो । यसपटक पनि शल्यक्रिया मार्फतनै सुत्केरी गराईनुपर्ने भएकोले जटिल परिस्तिथिमा पनि सफल शल्यक्रिया गराईएको डा. दाहालले बताए ।

उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सङ्क्रमित महिलाको शल्यक्रिया गरिएको डा. पाण्डेको भनाइ छ । ती महिलाले दोस्रो सन्तानका रुपमा छोरी जन्माएको अस्पतालले जनाएको छ । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्