नुवाकोटमा पर्ने मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित किसानलाई राहत रकम वितरण
नुवाकोट,असार ३१ । जिल्लाको शिवपुरी गाउँपालिका–वडा नम्बर १ का किसान रामबहादुर तामाङले यसपालि आफ्नो मकैबाली राम्ररी स्याहार्नै पाएनन्। शिवपुरी राष्ट्रिय निकुञ्जबाट आएका बादर, दुम्सी लगायत जन्तुले उनको मकै सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए।
निकुञ्जका वन्यजन्तुपीडित तामाङले आफू बादर र बँदेल धपाउँदाधपाउँदा हैरान भएको बताए। ‘निकुञ्जबाट आएका बादर, दुम्सी, बँदेलले हाम्रो मकैबालीमा क्षति गरिदिए,’ तामाङले साझापथसँग भने, ‘क्षति गरेको बोट स्याहार्न धेरै नै हैरानी भयो।’
सोही गाउँकै कर्णबहादुर तामाङले पनि वन्यजन्तुको बिगबिगीले गर्दा यस वर्ष मकै,गहुँ, तोरी बाली सकुशल भित्र्याउन नपाएको गुनासो गरे। ‘निकुञ्जका जनावर सम्साँझै खेतबारीमा आएर बाली खाइदिन्छन्,’ उनले भने, ‘बारीमा पसेपछि केही पनि बाँकी राख्दैनन्।’ वन्यजन्तुले क्षति पुर्याउदा वार्षिक रूपमा आम्दानी घट्दै गएको तामाङले सुनाए। शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाएको बाली स्याहार्न नपाउने रामबहादुर र कर्णबहादुरजस्ता पीडित किसान यस क्षेत्रमा धेरै छन्। पहिले पहिले सामान्यतया यस क्षेत्रका पीडित किसान क्षतिपूर्तिका लागि निवेदन दिँदैनथे। दिनै परे कहाँ निवेदन दिने त्यसबारे केही जानकारी थिएन।सके बालीमा पसेका वन्यजन्तुलाई क्षति पुर्याउने प्रयास गर्थे नसके आफ्नो बाली क्षति भएको दृश्य रमिते भएर हेर्थे।
तर केहि वर्ष यता निकुञ्जको नियमअनुसार मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनका लागि निकुञ्जले पर्याप्त मात्रामा पहल सुरु गरेको छ भने हालै किसानको बाली तथा घरगोठमा पुर्याएको क्षतिको मूल्यांकन गर्दै क्षतिपूर्ति समेत वितरण गरेको छ। हालै शिवपुरी गाउँपालिकाको १, २ र ३ वडा अन्तर्गत पर्ने छाप, लिखु र तलाखुका किसानलाई वन्यजन्तुले पुर्याएको क्षतिका आधारमा १२ लाख १३ हजार ५ सय रकम वितरण गरिएको निकुञ्जका अफिस असिस्टेन्ट आशिष लामाले बताए। सो क्षेत्रका १ सय ४३ जना किसानलाई क्षति बापतको रकम वितरण गरिएको हो। घटना घटेको ३५ दिनभित्र क्षति बापतको रकम किसानलाई पुर्ती गर्नुपर्ने निकुञ्जको प्रावधान रहेपनि व्यवहारिक कठिनाइका बाबजुद एकैपटक पीडित किसानलाई एकमुष्ट रकम वितरण गरिएको निकुञ्जले जनाएको छ।