लकडाउनमा निर्वाध चले नुवाकोटमा निजि सवारी, कहिले चल्छ? भाडाका ठूला बस?



नुवाकोट, असार ३१ । लकडाउनको समयमा सार्वजनिक यातायात अन्तर्गत भाडाका ठूला बस नचल्दा जिल्लास्थित सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ।

पछिल्लो लकडाउनमा जिल्ला आवतजावतको सडकखण्ड छहरे-टोखा सडकखण्डमा भाडाका साना तथा दुई पाङ्ग्रे सवारीसाधन निर्वाध सञ्चालनमा रहेपनि सर्वसाधारणको पहुँचमा रहेको ठूला बस सञ्चालनमा आउन सकेका छैनन्।

तर लकडाउनको पछिल्लो समयावधिमा भाडाका धेरैजसो साना गाडी समेत सञ्चालनमा रहदै आएको छ। यस विषयमा न प्रशासनले निगरानी राख्यो न त सर्वसाधारणले नै। कतिपय यस्ता यातायात सञ्चालकले प्रहरी पहुँच र बिचमा चोरबाटो यात्रु हिंडाएर समेत साना गाडी सञ्चालन तथा प्रवेश गर्दै मनोमानी भाडा उठाइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।

लामो दूरी तथा ठूला बस सञ्चालनबारे यस्तो छ आजको निर्णय

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । आवश्यक परेका सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने निर्णय गरिएको एक अधिकारीले बताए ।

आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित बाहिरी जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय समेत गरिएको छ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । उपत्यकामा पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ । पछिल्लो समय उपत्यकामा राती सात बजेसम्म मात्रै सार्वजनिक सवारी सञ्चालनको अनुमती रहदै आएको थियो ।

नुवाकोटमा भने पछिल्लो लकडाउन समयावधि भोलि सकिदैछ। भाडाका ठूला सवारीसाधनलाई संचालन दिने या नदिने बारे भोलि नै निर्णय हुने जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्